राजनीति

सूर्यविनायक नगरपालिकाको भौतिक प्रगति शतप्रतिशत



भक्तपुर, १८ मंसिर । विकास र समृद्धिको यात्रामा एक कदम अगाडी बढ्नेमात्र नभई एक कदम दौडिएको जिल्लाको सूर्यविनायक नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ मा भौतिक प्रगति शतप्रतिशत गरेको छ ।

नगरपालिकामा तीन वटै तहका सरकारबाट विनियोजित रकमबाट सञ्चालन गरिएका सम्पुर्ण आयोजनाहरुको लक्षीत विन्दु तथा अपेक्षाभन्दा उत्कृष्ट रुपमा सम्पन्न गरेको छ । संघिय सरकार, प्रदेश सरकार, नगरपालिका तथा स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष)बाट सञ्चालित योजना तथा बजेटमा समेत शतप्रतिशत भौतिक प्रगति गरेको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ ।

संघियताको कार्यान्वयनसँगै विकास र समृद्धिको लागि नेपालकै उदाहरणीय नगरपालिकाको रुपमा रहेको सूर्यविनायकले भौतिक प्रगति शतप्रतिशत गरे पनि विनियोजित रकम भने शतप्रतिशत गर्न नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ । वित्तिय प्रगति शतप्रतिशत नहुनुको मुख्य कारण भने टेण्डरको माध्यमबाट खुल्ला प्रतिपर्धाबाट आयोजना निर्माणको जिम्मा दिने नगरपालिकाको नियम अनुसार प्रतिस्पर्धाका क्रममा विलोमा टेण्डर हुने भएकाले शतप्रतिशत बजेट खर्च हुन नसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले जानकारी दिनुभयो ।

जिल्ला समन्वय समितिले आज आयोजना गरेको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले नगरपालिकाका कर्मचारीको व्यवस्थापन र जिम्मेवारी प्रभावकारी हुनु नै नगरपालिकाका सम्पूर्ण गतिविधिहरु सफलताको बाटोमा अगाडी बढेको उल्लेख गर्नुभयो । तीन वटै तहका राजनीतिक जनप्रतिनिधिसँगको प्रभावकारी रुपमा समन्वयात्मक ढंगले काम भएकाले उहाँले उल्लेख गर्नुभयो ।

आयोजनाको शिलान्यास गरी कामको अनुगमन, प्रभावकारीता, दिर्घकालिन तथा स्थायीत्वको लागि जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा विभिन्न संंघसंस्थाको खवरदारी नै सफलताको कडि भएको उहाँले उल्लेख गर्नुभयो । आयोजना सञ्चालमा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, प्रदेश सांसद शसी जंग थापा, नगरप्रमुख बाशुदेव थापा, उपप्रमुख जुना बस्नेतलगायतका जनप्रतिनिधिको साथमा आफु सहितको कर्मचारीको सक्रियताले कुनै पनि समस्यालाई तत्काल समाधानको उपाय अपनाउने गरेको सविस्तार प्रस्तुत गर्नुभयो ।

भिडियो

https://www.facebook.com/kamaljnawali/videos/3708893922467047

तीन वटै तहबाट विनियोजित बजेट तथा योजना अन्तरगतका सडक, ढल, पुल, पार्क, हरियादी प्रवद्र्धन, भूक्षय नियन्त्रण, खानेपानी, यातायात, शिक्षा, स्वास्थ्य, पर्यटकीय प्रवद्र्धनलगायतका क्षेत्रहरुको नगरपालिकाभित्रका योजनाहरु प्रभावकारी ढंगले सञ्चालन गर्न विभिन्न समितिहरु गठन गरी जिम्मेवारी प्रदान गरीएको उल्लेख गर्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले कोरोनाको संक्रमणको उच्च जोखिमकाबीच पनि कुनै पनि आयोजना नरोकी तिव्रता दिनु नै लक्षीत प्रगति हासिल भएको उल्लेख गर्नुभयो ।

राजनीतिक संयन्त्रहरुमा भएका निर्णयहरुलाई कार्यान्वयन गर्न नगरपालिकाका कर्मचारीहरु अहोरात्र खटिरहेको उल्लेख गर्दै उहाँले नगरवासीको समृद्धिको सपना एक पछि अर्को गर्दै दैनिक रुपमा पुरा हुँदै गएको स्पष्ट पार्नुभयो । नगरपालिकामा शिलान्यास हुने मात्र नभई दैनिक जसो उद्घाटन समेत भइरहेको तथ्यहरु सार्वजनिक गर्दै उहाँले बहुबविर्षिय योजना बाहेकका आयोजना समयमा नै सम्पन्न गरिएको दावी गर्नुभयो ।

नगरपालिकाको भवन निर्माणको लागि दुई करोड रकम विनियोजन गरिएकोमा शतप्रतिशत नै वित्तिय प्रगति हासिल गरिएको उल्लेख गर्दै उहाँले भौतिक प्रगति भने पाँच प्रतिशत मात्र भएको जानकारी गराउनुभयो ।

प्रदेश सरकारबाट शसर्त अनुदानका चार वटा योजनाहरुमा वित्तिय प्रगति ८९.३४ प्रतिशत प्रगति भएको छ भने भौतिक प्रगति शतप्रतिशत नै भएको उहाँले तथ्याङ्कहरु प्रस्तुत गर्नुभयो । संघबाट प्राप्त केही आयोजनाहरु अघिल्लो आर्थिक वर्षमा सम्पन्न गर्न केही समस्या उत्पन्न भएका आयोजनाहरु चालु आर्थिक वर्षमा सम्पन्न हुने अन्तिम तयारीमा रहेको समेत उहाँले जानकारी गराउनुभयो ।

स्थानीय पूर्वाधार विकास कोष (सांसद कोष) तथा नगरपालिकाको साझेदारीमा भएका योजनाहरुको भौतिक तथा वित्तिय प्रगति समेत सतप्रतिशत भएको उल्लेख गर्दै उहाँले जनताको माग र आवश्यकता अनुसार नगरप्रमुखले नै टोल टोलमा पुगी अनुगमन गरी बजेट व्यवस्थापन गरेकाले पनि प्रगति हासिल गर्ने महत्वपूर्ण माध्यम बनेको बताउनुभयो ।

नगरपालिका र स्थानीय नागरिकबीच भएको साझेदारी कार्यक्रममा समेत शतप्रतिशत नै काम भएको बताउनुभयो । नगरपालिका भित्र गत आर्थिक वर्षमा एक करोडभन्दा ठूला ११ वटा आयोजनाहरु सञ्चालन भएकोमा ७१.२६ वित्तिय प्रगति भएको छ भने भौतिक प्रगति शतप्रतिशत रहेको छ । नगरपालिकाभित्रका वडा स्तरिक ३० लाख सम्मका १० वटा आयोजना रहेकोमा ९६.६७ प्रतिशत वित्तिय प्रगति तथा शतप्रतिशत भौतिक प्रगति भएको उहाँले जानकारी दिनुभयो ।

गत आर्थिक वर्षमा ४.९ किमि सडक कालोपत्र भएको छ भने २.१ किमि ढलान भएको छ । ११ किमि ढल विच्छ्याउने कार्य भएको छ भने १९ किमि सडक ग्राभेल गर्ने कार्य भएको छ । पाँच वटा ठूला पक्की पुल बनेका छन् भने दुई वटा ट्रष्ट पुल बनेका छन् । त्यस्तै ६ वटा सामुदायीक भवन बनेका छन् भने १० वटा विद्यालयका भवनहरु निर्माण सम्पन्न भएका छन् । खानेपानी पाइपलाई ९ किमि निर्माण भएको छ भने ७ वटा टेंकी निर्माण भइसकेका छन् । १३ किमि सिचाई कुलो निर्माण भएको छ भने ९ वटा मठमन्दिर निर्माण भएका छन् । त्यस्तै ५ वटा प्रतिक्षालय निर्माण भएका छन् भने २ वटा खेलमैदान निर्माण सम्पन्न भएका छन् ।