काठमाडौँ, २२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले पार्टीमा भइरहेको आन्तरिक विवादको समाधानको लागि स्थायी कमिटीका सदस्यहरुलाई मर्मस्पर्शी सन्देश दिनुभएको छ ।
स्थायी समितिका सदस्यहरुले जनता, कार्यकर्ता तथा नेताहरुको मन जित्नुपर्ने कुरामा जोड दिँदै उहाँले वर्तमान अवस्थामा नेकपाको आशाको केन्द्रका रुपमा स्थायी कमिटीका सदस्यहरु रहनुभएको उल्लेख गर्नुभएको छ । पार्टीको विवाद समाधान गर्न सचिवालय असफल भएको बताउँदै उहाँले स्थायी कमिटीले पार्टीको विवाद समाधान गरी मुलुकको विकास र समृद्धिको यात्रामा द्रुत गतिमा अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभएको छ, ‘यतिबेला सिंगो नेकपा पंक्तिले तपाईंहरुतर्फ आशाको नजरले हेरिरहेको छ । नेकपा भित्रको संकट समाधानमा यहाँहरु सफल हुनुहोस्, हृदयको गहिराईबाट मंगलमय शुभकामना छ । सचिवालय समस्या समाधानमा असफल देखियो । तर परिस्थितिले यहाँहरुलाई असफल हुने अनुमति दिएको छैन ।’
पार्टीमा देखा परेको संकट पेचिलो बन्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट अध्यक्ष तथा निर्वाचन पछि प्रधानमन्त्री छोड्छु भनि घोषणा गरिसक्नु भएकाले तत्कालै हटाई हाल्ने अडान राख्ने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालको औचित्य नभएको बताउनुभयो । प्रधानमन्त्री हुनलाई निर्वाचन तथा अध्यक्ष हुनलाई महाधिवेशन पर्खन ओलीले गरेको अनुरोधलाई स्वीकार गरी पार्टीको संकटलाई समाधानको बाटोमा अगाडी बढ्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टी नेतृत्वमा देखा परेको संकट असाध्यै पेचिलो छ । वहाँहरुको मन तुन्नबुन्न यहाँहरुलाई कम कठीन हुनेछैन । महाधिवेशनबाट अध्यक्ष र निर्वाचन पछि प्रधानमन्त्री छोड्छु भनिरहेका केपी ओलीलाई भर्खरै नहटाई नछाड्ने प्रचण्ड र माधव नेपाल कमरेडहरुको अडान पटक्कै औचित्यपूर्ण देखिन्न । अध्यक्ष हुन महाधिवेशन र प्रधानमन्त्री हुन निर्वाचनसम्म पर्खनुहोस भन्ने कमरेड केपी ओलीको विनम्र अनुरोधलाई अस्वीकार गरेर महासंकट सिर्जना गर्ने कुरालाई कसरी जायज मान्ने ?’
यही कारणबाट पार्टी विभाजन हुने र आन्दोलनका उपलब्धीहरु, मुलुकको राजनीति, संविधान र व्यवस्थामाथि नै संकट निम्तिने खतरापूर्ण अवस्था आउनु दुर्भाग्यपूर्ण हुने उल्लेख गर्दै उहाँले भविष्यमा यसको औचित्य कसैले पुष्टि गर्न नसक्ने उल्लेख गर्नुभयो । विश्व कम्युनिष्ट आन्दोलनको लागि उदाहरणीय र अनुकरणीय बनिरहेको नेपालको कम्युनिष्ट आन्दोलनमाथि कुठाराघात हुनेसमेत उहाँले बताउनुभयो ।
बरु महाधिवेशन छिटो आयोजना गरौं र त्यहीबाट नीति, विधि र नेतृत्वको छिनोफानो गर्नुपर्नेमा जोड दिँदै उहाँले मन्त्री मण्डल पुनर्गठन, प्रदेशमन्त्री मण्डल हेरफेर, राजनीतिक नियुक्ति आदिको प्रवन्ध सहमति र समझदारीबाट गर्नुपर्ने बताउनुभयो । निर्वाचनसम्म राजनीतिक स्थायित्वको सुनिश्चितता गर्न नेतृत्वलाई आग्रह गर्दै उहाँले कम्युनिष्ट आन्दोलनको लागि एउटा गौरवपूर्ण इतिहास कोरिनेसमेत दावी गर्नुभयो । जनताको सपनालाई तुषारापात हुन दिन नहुने उल्लेख गर्दै उहाँले भावी पुस्ताले गर्वसाथ कम्युनिष्ट पार्टीले देशलाई स्थायित्व दिएको थियो भनेर भन्न पाउने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्