समाचार

घर नेपाल, बाटो भारतको : ९ महिनादेखि घरबाट निस्कन पाएनन्



काठमाडौँ, २४ मंसिर । न त कुनै मुद्दा, न त कुनै राजनीतिकर्मी र आपराधिक क्रियाकपालमा संलग्न । तर, पनि विगत ९ महिनादेखि घरबाट निस्कन पाएका छैनन् विराटनगर- १७ का गजेन्द्र ठाकुरका परिवार । घर नेपालमा भए पनि भारतको बाटो प्रयोग गरेर घर जानुपर्ने बाध्यताले उनको परिवार सीमा सिल गरिएसँगै घरबाट निस्कन पाएको छैन । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले गत चैत ११ गतेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेपछि ठाकुरको परिवार समस्यामा परेको हो ।

बसोबास नेपालमा भए पनि बाहिर निस्केर हिँड्न भारतको बाटो प्रयोग गर्नुपर्छ । अर्को कुनै विकल्प छैन । लकडाउनको समयमा नेपालीभन्दा भारतमा समस्या थियो। नेपाल आउने बाटो अरू थिएन । अहिले भने भारतले एकतर्फी रूपमा सीमा नाका खुला गरेको छ, तर नेपालतर्फको सिमाना बन्द नै छ ।

ठाकुर परिवारको घरभन्दा पश्चिम नेपाल–भारत सीमाको दसगजा पर्दछ । दसगजासँगै जोडेर भारततर्फ सडक छ । त्यही सडकबाट जोगबनी भन्सार नाका हुँदै ठाकुर परिवार नेपाल आउजाउ गर्ने हुँदा अहिले उनीहरू नेपालमा घर भए पनि नेपाली क्षेत्रमा आउन पाउँदैनन्। ठाकुर परिवारका चार दाजुभाइमध्ये माइला गजेन्द्र ठाकुर हुन् । दाजु कृष्णकुमार ठाकुर, गजेन्द्र, रवीन्द्र र अशोकले पैतृक सम्पत्तिमा चारवटा घर बनाएर चारै जना अलगअलग बसेका छन् । यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।