भक्तपुर, २७ मसिर । विगत एक वर्षदेखि रोकिएको काठमाडौँ पेप्सीकोलादेखि सानोठिमी, पुरानोथिमी बाहखा बजार, निकोसेराहुँदै चाँगुनारायण नगरपालिकाको दुवाकोट र भक्तपुर नगरपालिकाका सल्लाघारी जोड्ने खस्याङ्खुसुङ्ग पुलसम्मको सडक विस्तार कार्य पुनः सूचारु भएको छ ।
सुरुमा मापदण्ड अनुसार सडक खाली नहुँदा केही समय अबरोध आएको यो सडक विस्तार कार्य विचमा सुरु भए पनि पछि बाहखा बजारका घरहरु भत्काउनु पर्ने भएपछि निस्किएको विवाद सुल्झिएसंगै सडक विस्तारले पूर्णता पाउने भएको हो ।
काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७४ साल असारमा ठेक्का सम्झौता भए्र संघीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले शिलन्यास गरी सुरु भएको सडक विस्तार सांसद बस्नेत कै पहलमा समस्या सुल्झाउदै पुनः विस्तार सुरु भएको हो ।
भक्तपुरमा नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई आए लगत्तै यहीँ मंसिर १८ गते सांसद बस्नेत कै पहलमा जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सांसद बस्नेत, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरु एवं सरोकारवालाहरुको छलफलमा बाहखा बजारको घर नभत्काउने र बैकल्पिक सडक निर्माण गरेर एकतर्फी यातायात सञ्चालन गर्ने सहमति जुटेसंगै रोकिएको सडक विस्तार आयोजना पुनः सुरु भएको हो ।
बाहखा बजारबाट नगदेश–बोडे हुँदै नगरपालिका निस्कने आठ मिटर सडकलाई कालोपत्र गरिने भएको छ । हाल साँघुरो सडकका कारण जाम हुने बाहखा बजार–हुलाक रोड सडक र नगदेश–बोडे हुँदै नगरपालिका हुलाक रोड जोड्ने सडकलाई एकतर्फी यातायात सञ्चालन गर्ने गरी स्तरोन्नती गरिने भएको छ ।
फुटपाथ, ढलसहित २० मिटर चौडा सडक रहने गरी कूल रु. ४३ करोडमा ठेक्का सम्झौता भएको उक्त सडक पेप्सीकोलादेखि सानोठिमीस्थित नेपाली सेनाको व्यारेक तलसम्म निर्माण सम्पन्न भएको छ ।
२०३४ सालमा सडकको मापदण्ड तोक्नु अगाडि नै निर्माण भएका बाहखा बजारका पुराना बस्तीका घरहरु भत्काएर सडक विस्तार गर्ने भए घरसहित जग्गाको मुआब्जा दिनुपर्ने स्थानीयले माग राखेपछि सडक विस्तार रोकिएको थियो ।
पुरोना बस्ती रहेको बाहखा बजारको घरहरु भत्काउने सन्दर्भमा मुआब्जा विवाद भएपछि सडक निर्माण कार्य रोकिएकोमा हाल सहमति पछि सडक विस्तारको बाँकी काम सुरु भएको आयोजना प्रमुख गुरु अधिकारीले जानकारी दिनुभयो । सानोठिमीको एसओएसबाट पेप्सीकोला पुलसम्म रहेका केही पुराना घरलाई तत्काल नभत्काउने गरी यस क्षेत्रमा बाँकी रहेका निर्माणका काम सम्पन्न गरिने भएको उहाँले जानकारी दिनुभयो ।
त्यसैगरी थिमीको सिद्धिकालीबाट नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल अगाडि जोड्ने गरी पाइपलाइनको सडकलाई समेत आठ मिटर चौडामा विस्तार एवं स्तरोन्नती गरी कालोपत्र गरिने भएको छ ।
सडक विस्तारको क्रममा बाहखा बजार हँुदै खस्याङ्खुसुङ् खोलाको बिचमा रहेको निकोसेरा बस्तीको समस्या समाधान भएपछि यस क्षेत्रमा अबरोध भएको काम पनि सूचारु हुने भएको छ । निकोसेरामा अधिकांश गुठी जग्गा रहेको तर सडकमा परेको जग्गाको समेत तिरो तिर्नुपर्ने बाध्यता रहेकाले सडक विस्तारको विरोध हुदै आएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा यहाँका गुठी जग्गाको सरकारले लगतकट्टा गरी तिरो तिर्नु नपर्ने व्यबस्था गरी स्थानीयको माग सम्बोधन गर्ने सहमति भएपछि यस क्षेत्रमा पनि रोकिएको काम अगाडि बढाउने भएको हो । यहीँ आउदो पुस मसान्तसम्म यो सडकको निर्माण कार्यलाई पूर्णता दिने गरी तिब्र गतिमा काम सुरु गरिएको आयोजना प्रमुख ढकालले जानकारी दिनुभयो ।
मध्यपुरथिमीमा भएको बस्ती विकास र अरनिको राजमार्गमा बढ्दो सवारी चापले भक्तपुरको जगातीबाट कमलविनायक, सल्लाघारी पुरानोथिमी तथा राधे राधेबाट पुरोनाथिमी जाने सवारीको चाप पनि बढ्दै गएपछि यो सडक निकै व्यस्त हुन थालेको छ ।
केही वर्ष यता हुलाक रोडदेखि बाहखा बजार नेपाली सेनाको व्यारेक तलसम्म सडक जाम बढ्दै आएको छ । यो सडक विस्तारले पूर्णता पाएपछि भने पुरानो थिमी–पेप्सीकोला सडक पनि जाममुक्त हुने विश्वास लिइएको सांसद बस्नेतका स्वकीय सचिव दिनेश थापाले बताउनुभयो । सडक निर्माणको सांसद बस्नेत, जनप्रतिनिधी, आयोजनाका प्रमुखसहित प्रतिनिधी, प्रजिअ, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवालाहरुले अनुगमन गर्नु भएको छ ।










प्रतिक्रिया दिनुहोस्