राजनीति

उपराष्ट्रपति पुन र बंगलादेशका नवनियुक्त राजदूतबीच भेटवार्ता



काठमाडौँ, २९ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र  नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीबीच शिष्टाचार भेटवार्ता भएको  ।

सोमबार अपरान्ह उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ । भेटमा उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताए । उनले स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिँँदै बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको स्मरण गरे ।

उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाईमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ् र विस्तार हुने विश्वास व्यक्त गरे । उपराष्ट्रपतिले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्नुपर्ने बताउँदै यसबीचमा आउने साझा समस्या र चुनौतीहरुको साझा रुपमै सामना गर्नुपर्ने बताए ।

भेटमा बंगलादेशका राजदूत चौधरीले नेपाल बंगलादेशको अत्यन्तै घनिष्ठ मित्र राष्ट्र भएको बताए । बंगलादेशको स्वतन्त्रतापछि नेपालले गर्दै आएको सहयोगका लागि धन्यवाद दिंदै उनले बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौं राष्ट्र भएको बंगलादेशी जनताले कहिल्यै नबिर्सने बताए ।