Banner News

संवैधानिक परिषदको बैठक स्थगित



काठमाडौँ, ३० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहानै बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्नि सापकोटा नगएपछि स्थगित भएको छ । बैठक स्थगित गरे पनि बेलुका ५ बजे पुन: बोलाइएको बालुवाटार स्रोतले जनाएको छ ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना बैठकस्थल पुगेका थिए ।

आइतबार पनि विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख सापकोटा नजाँदा बैठक सरेको थियो । आइतबार संघीय संसद सेवा दिवस परेकाले बैठकमा नगएको बताएका सापकोटाले मंगलबार भने अध्यक्ष र सदस्यहरुवीच समन्वयको अभाव भएको भन्दै बैठकमा नआउने जानकारी प्रधानमन्त्रीलाई गराएको स्रोतले जनाएको छ ।

परिषदका सदस्यहरुमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहन्छन् । परिषदको बैठकमा कोरम पुग्नका लागि प्रधानमन्त्रीबाहेक ४ जना सदस्यको उपस्थिति अनिवार्य हुनुपर्ने संवैधानिक व्यवस्था छ ।