Banner News

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार पूरै अवधि टिक्छ: मन्त्री श्रेष्ठ



काठमाडौँ, ३ पौष । शहरी विकासमन्त्री मन्त्री कृष्ण गोपाल श्रेष्ठले जनताको चाहना अनुसार विकास निर्माणको कामले तीब्रता लिएको उल्लेख गर्दै जनताको अपार मायाको कारण सरकारको लोकप्रियता बढ्दै गएको बताउनुभएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका १ वडाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा पुग्नुभएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतासमेत रहनुभएका श्रेष्ठले वर्तमान सरकारले जनताको साथ र सहयोगले नै मुलुकको समृद्धिको यात्रा तय गरेको उल्लेख गर्नुभयो । जनताको आवश्यकता र मागको आधारमा सरकार अगाडी बढ्ने उल्लेख गर्दै पार्टीले चुनावको समयमा जनतासामु गरेका प्रतिवद्धताहरु पुरा गरेरै छाड्ने समेत उल्लेख गर्नुभयो ।

पार्टी फुटको संघारबाट जोगिएको स्पष्ट पार्दै उहाँले अब नेताहरु मिल्नुको विकल्प नभएको समेत बनाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पूरै अवधि टिक्ने दावी पनि गर्नुभयो । उहाँले भन्नुभयो ‘तपाईहरु ढुक्क हुनुहोस्, कुनैपनि हालतमा पार्टी फुट्दैन, फुट्न पनि दिदैनौ ।’ कार्यक्रममा मन्त्री श्रेष्ठलाई कार्यकर्ताहरुले पार्टी फुटाएर गम्भीर अवस्था आउने भन्दै चेतावनी दिएका थिए ।

कार्यक्रममा वागमती प्रदेशका सांसद हरिशरण थापाले सरकार र पार्टीलाई बचाउन कार्यकर्ताको तर्फबाट सबै खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा चन्द्रागिरी नगरपालिका–१ का अध्यक्ष राजेन्द्र केसीले वडा र सो क्षेत्रको विकासका योजनाबारे जानकारी गराउनुभएको थियो । उहाँले अबको समय विकास निर्माणको समय भएको बताउँदै सरकारले आफ्नो क्षेत्रका सांसदले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।