समाचार

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु



गुल्मी, ४ पौष । गुल्मीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ दुबिचौरमा लु १ ह २७४३ नम्बरको अटो दुर्घटना हुदा चालक सोही नगरपालिका वडानम्बर–१२का तेजबहादुर रानाको मृत्यु भएको हो ।

गौडाकोटबाट तम्घासतर्फ आउँदै गर्दा अनियन्त्रित भइ सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । अटोमा सवार घाइते ४ जनामध्ये २ जनाको गुल्मी अस्पताल र २ जनालाई थप उपचारको लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।