विश्व

दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघ्यो



एजेन्सी, १३ पौष । दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमितको संख्या १० लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा नौ हजार पाँच सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै दक्षिण अफ्रिकामा कोरोना भाइरस सङ्क्रमितको संख्या १० लाख चार हजार नाघेको बीबीसीले जनाएको छ । दक्षिण अफ्रिकामा छिटो फैलिने नयाँ कोरोना भाइरस पनि भेटिएको त्यहाँका अधिकारीहरूले पुष्टि गरेका छन् ।

नयाँ प्रकारको भाइरस भेटिनुको साथै सङ्क्रमण फैलने क्रम तीव्र बनेपछि राष्ट्रपति सिरिल रामाफोसाले भाइरस फैलिन नदिन कडा प्रतिबन्धको घोषणा गर्ने बताउनुभएको खबरमा उल्लेख छ । दक्षिण अफ्रिकामा कोरोना सङ्क्रमणबाट २६ हजार ७ सय ३५ जनाको ज्यान गएको छ ।

दक्षिण अफ्रिकासहित सङ्क्रमितको संख्या १० लाखभन्दा धेरै हुने देशको संख्या १८ पुगेको छ । विश्वका दुई सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म आठ करोड ११ लाख २६ हजारभन्दा धेरैमा सङ्क्रमण भएकोमा १७ लाख ७१ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । पाँच करोड ७२ लाख ८० हजारभन्दा धेरै निको भएका छन् ।