राजनीति

नेपाली चाडपर्वले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने राष्ट्रपतिको विश्वास



काठमाडौँ, १५ पौष । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा मनाईने विभिन्न प्रकारका चाडपर्व तथा धर्मसंस्कृतिले राष्ट्रिय एकतालाई सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

आज किराँत समुदायको महान् पर्व उधौली, गुरुङ समुदायको महान् चाड तमु ल्होसार, यमरी पूर्णिमालगायतका पर्वहरुको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

यस चाडले इष्टमित्र तथा आफन्तबीच भेटघाट एवं मेलमिलापको अवसरसमेत प्रदान गर्ने भएकाले यसबाट पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न महत्वपूर्ण योगदान पुग्ने देखिने जनाउँदै उहाँले यस्ता चाडपर्वबाट नेपालका विविध भूगोल, संस्कृति, जातजाति र भाषाभाषीका जनताबीच आपसी सद्‌भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वागस उहाँले व्यक्त गर्नुभएको छ ।

प्राकृतिक ऋतुचक्रसँग एकाकार भई मनाइने उधौली पर्वले प्राकृतिक स्रोतको दिगो उपयोग गर्दै सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई प्रेरणा दिन सकोस् भनी राष्ट्रपतिले शुभकामना पनि प्रकट गर्नुभएको छ ।

बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभएको छ ।