राजनीति

उड्डयन क्षेत्रको आम्दानी गुम्यो



काठमाडौँ, १८ पौष । कोरोनाका कारण सन् २०२० सुखद रहेन । कोरोनाले सबैभन्दा बढी असर गरेको उड्डयन क्षेत्रको आम्दानी सन् २०२० मा करिब ८० प्रतिशतले घटेको छ । अघिल्लो वर्षको समीक्षा अवधिसँग तुलना गर्दा करिब ५ अर्ब ६९ करोड रुपैयाँ आम्दानी घटेको देखिन्छ ।

उड्डयन क्षेत्रको नियामक निकाय नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार सन् २०२० मा उड्डयन क्षेत्रले करिब १७ अर्ब ६२ करोड रुपैयाँ आम्दानी गुमाएको छ । सन् २०२० को जनवरीबाट नै कोरोना भाइरसका कारण सबै उडानमा भएको प्रतिबन्धका कारण उड्डयन क्षेत्रले ठूलो धनराशि गुमाएको हो ।

सन् २०२० मा नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले मात्रै करिब ५ अर्ब रुपैयाँ गुमाएको छ भने निजी क्षेत्रको हिमालय एयरलाइन्सले करिब २ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ। दुवै वायुसेवाले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । निगमले आन्तरिक उडान पनि भर्ने गर्छ । यस्तै, आन्तरिक तर्फका वायुसेवा कम्पनीले करिब १० अर्ब ६२ करोड रुपैयाँ गुमाएका छन् । यसमा हेलिकप्टर सेवा पनि समावेश गरिएको छ । सन् २०२० को मार्च २३ बाट लगाइएको उडानमा प्रतिबन्धका कारण र कोरोना संक्रमण वर्षभरि रहेका कारण सो वर्ष यात्रुको चहलपहल न्यून हुन पुगेको छ ।

सेप्टेम्बर १ बाट बाह्य र सेप्टेम्बरको अन्तिम साताबाट मात्रै उडान खुलेको थियो । सन् २०२० को नोभेम्बरसम्म १० लाख ३९ हजार ३ सय २२ यात्रुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवागमन गरेका छन् । समीक्षा अवधिमा अघिल्लो वर्ष ४१ लाख ३८ हजार ४ सय ८२ यात्रुले आवागमन गरेका थिए । अघिल्लो वर्षसँग तुलना गर्दा करिब ६४.७३ प्रतिशतले यात्रु संख्या घटेको छ  ।

समीक्षा अवधि अन्तर्राष्ट्रियतर्फ ८६ प्रतिशत र आन्तरिकतर्फ ७३ प्रतिशतले हवाई यात्रु घटेका छन् । अन्तर्राष्ट्रिय क्षेत्रमा पनि करिब ६० प्रतिशत हवाई यात्रु संख्या घटेको छ । यसले गर्दा करिब ३ खर्ब ९१ अर्ब अमेरिकी डलर बराबरको आम्दानी अन्तर्राष्ट्रिय वायुसेवाले गुमाएका छन् । यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।