अर्थ

एनआईसी एशिया बैंकको सूर्यविनायक नगरपालिकामा विस्तारित काउण्टर



भक्तपुर, २० पौष । एन आई सी एशिया बैंकले ९३ औं विस्तारित काउण्टर भक्तपुरको सूर्यविनायक नगरपालिका कार्यालय परिसरमा शुभारम्भ गरेको छ । उक्त सूर्यविनायक नगरपालिका विस्तारित काउण्टरको समुद्घाटन पूर्वमन्त्री महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा एवं बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले संयुक्त रुपमा गरेका छन् ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री महेश बस्नेतले सूर्यविनायक नगरपालिकाले पेपरलेस प्रविधिलाई प्राथमिकताका साथ राखिरहेको अवस्थाकाबीच एन आई सी एशिया बैंकसँगको साझेदारीले ई–बैंकिङ्ग जस्तो महत्वपूर्ण विधाले नगरपालिकाको प्राथमिकतालाई थप सशक्त बनाउन मद्दत पु¥याउने बताए । देशको अर्थतन्त्रलाई सुदृढीकरण गर्नका लागि बैंकिङ्ग प्रणालीको महत्वपूर्ण भूमिका रहेकोमा यस बैंकसँगको साझेदारीले थप सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

साथै नगरपालिकाका मेयर वासुदेव थापाले विस्तारित काउण्टरबाट सम्पूर्ण नगरबासीले आधुनिक बैंकिङ्ग सेवा प्राप्त गर्नुका साथै कर्जा सुविधा समेत उपभोग गर्न पाउने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले सूर्यविनायक नगरपालिकाको सम्पूृर्ण बैंकिङ्ग कारोबारहरू व्यवस्थापन गर्ने जिम्मेवारी पाएकोमा धन्यवाद ज्ञापन गर्दै देशकै नमूना नगरपालिका रुपमा रहेको सूर्यविनायक नगरपालिकाको बैंकिङ्ग पार्टनर हुन पाउनुलाई बैंकले निकै ठूलो गर्व र गौरवको विषयको रुपमा लिएको बताए ।