विश्व

ट्रक दुर्घटना हुँदा फुटपाथमा सुतिरहेका १३ को मृत्यु



एजेन्सी, ६ माघ । भारतको गुजराजस्थित सूरतमा ट्रकले फुटपाथमा सुतिरहेका मानिसहरुलाई किच्दा १३ जनको मृत्यु भएको छ । प्रहरीका अनुसार ती सबै मजदुर थिए ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार सोमबार राती उक्त दुर्घटना हुँदा १२ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ८ जनाको स्थिती गम्भीर छ । उपचारको क्रममा अर्का एक जनाको मृत्यु भएको छ ।

प्रहरीले ट्रक ड्राइभर र क्लिनरलाई पक्राउ गरेको छ । भास्करका अनुसार दुर्घटनाका बेला ६ महिनाकी बालिका पनि आमा–बुवासँग सुतिरहेकी थिइन् । दुर्घटनापछि उनी शवको बीचमा थिइन् । प्रहरीले उनलाई तत्काल अस्पताल पुर्याएको छ ।

मृतकमध्ये एक राकेश रुपचन्द दुर्घटना स्थलभन्दा केही पर एक पसलमा काम गर्दथे । उनी हरेक दिन पसल नजिकैको एक क्याबिनमा सुत्दथे तर सोमबार उनी क्याबिनमा सुत्नुको साटो मजदुरसँग फुटपाथमा सुतेका थिए र ट्रक दुर्घटनाका कारण उनको मृत्यु भयो । ट्रकको ठक्कर ४–५ वटा पसलमा पनि क्षती पुगेको छ ।