एजेन्सी, ११ माघ । बेलायतमा शनिबार सार्वजनिक खोपको तथ्यांकले खोप वितरणको नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घन्टामा बेलायतमा झन्डै पाँच लाख कोरोना विरुद्धको खोप वितरण गरिएको अधिकारीहरुले बताएका छन् ।
सरकारी तथ्याङ्क अनुसार २४ घन्टामा चार लाख ७८ हजार २४८ जनालाई कोरोनाविरुद्ध खोपको पहिलो डोज दिइएको छ, जुन बेलायतमा खोप वितरण कार्य शुरु भएयताकै सबैभन्दा धेरै हो । योसँगै बेलायतमा कोरोना विरुद्धको खोपको पहिलो डोज लगाउनेको संख्या ५८ लाख ६० हजार पुगेको छ ।
यसैगरी चार लाख ६८ हजार ६१७ जनाले कोरोना विरुद्धको दोस्रो तथा अन्तिम डोज लगाएको सरकारी तथ्यांकले देखाएको छ । बेलायतमा कोरोना संक्रमण दर र मृत्युदर बढेसंगै यहाँका अस्पतालमा बिरामीको चाप अत्यधिक रुपमा बढेको छ । बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले बताए अनुसार हाल अस्पताल भर्ना हुनेको संख्या महामारीयताकै सबैभन्दा बढी छ भने पहिलाको तुलनामा दोब्बर बढी कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् । यसैगरी कोरोना संक्रमणका कारण भेन्टिलेटर बेडमा उपचारार्थ बिरामीको संख्या चार हजार नाघेको छ, जुन महामारी यताकै नयाँ रेकर्ड भएको अधिकारीहरुले बताएका छन् ।










प्रतिक्रिया दिनुहोस्