काठमाडौँ, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताउनुभएको छ ।
पत्रकारसँग कुरा गर्दै उहाँले भन्नुभयो, “आयोगको निर्णयले पनि पार्टी फुट्नु हुन्न भन्ने सन्देश दिएको छ, यसले अब पार्टी एकतामा सहयोग गर्दछ ।” उहाँले एकता अभियान सर्वोच्च अदालतको निर्णयपछि झन सशक्त हुने भन्दै त्यसका लागि प्रतिनिधिसभा पुनःस्थापना आवश्यक रहेको बताउनुभयो ।
उहाँले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई पनि आफूले एक गराएको भन्दै पुनः अहिले फुट्न थालेको पार्टीलाई पनि एक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “त्यति बेला नै मैले एमाले र माओवादी केन्द्रलाई एक बनाइ नेकपा बनाएको थिए”, उहाँले भन्नुभयो, “अब पनि एकता अभियानबाट म दुवै समूहलाई एकतामा ल्याउँछु ।” उहाँले ओली र दाहाल–नेपाल समूह दुवैको जित हुने गरी अबको एकता हुने बताउनुभयो ।
नेता गौतमले दुवै समूहलाई एकतामा ल्याउनका लागि यही माघ १४ गतेदेखि पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । एकता अभियानका संयोजकमा गौतम, सहसयोजकमा हरि पराजुली र सचिवमा बाबुराम थापा रहनुभएको छ । एकता अभियानसँगै नेता गौतमले लेख्नुभएको ‘जनताको बहुदलीय जनवाद’ (तुलनात्मक अध्ययन), ‘२१औँ शताब्दीको कम्युनिष्ट पार्टी’, ‘नेपाली जनताको समृद्धिको कार्यक्रम र बहुदलीय समाजवाद’ नामक तीन पुस्तक सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । रासस










प्रतिक्रिया दिनुहोस्