राजनीति

निर्वाचन लोकतन्त्रको प्राण हो : अर्थमन्त्री पौडेल



काठमाडौँ, १३ माघ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन लोतन्त्रको प्राण भएको बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्सले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले निर्वाचनमा आर्थिक क्रियाकलाप बढ्ने हुँदा अर्थतन्त्रमा सकारात्मक मद्दत पुग्ने बताउनुभयो । निर्वाचन प्रयोजनका लागि खटाइने कर्मचारीहरुलाई हुने भुक्तानी र अन्य खर्चले बजारलाई चलायमान बनाई सहयोग गर्ने अर्थमन्त्री पौडेलको भनाई छ ।

अर्थमन्त्री पौडेलले छिटो निर्वाचन गरेर सरकारले फजुल खर्च बढाउन खोजेको रुपमा मध्यावधि निर्वाचनलाई चित्रण नगर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनमा हुने खर्चलाई कतिपयले फजुल खर्चको रुपमा चित्रण गरिरहनु भएको छ । तर म त्यस्तो ठान्दिनँ किनभने पहिचाको रुपमा खर्च हुँदा पनि स्वाभाविक रुपमा आर्थिक क्रियाकलापमा पनि सहयोग पुर्याउछ ।’

निर्वाचन लोकतन्त्रको प्राण भएको बताउँदै अर्थमन्त्री पौडेलले संविधानले पाँच वर्ष वा त्योभन्दा अगाडि पनि निर्वाचन गर्न पाउने व्यवस्था गरेको धारणा राख्नुभयो । त्यस्तै उहाँले लोकतन्त्रको प्रक्रिया भएकाले निर्वाचनलाई फजुल खर्च भन्न नमिल्ने र पाँच वर्षभन्दा अगाडि नै भए पनि अत्यास मान्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपय मानिसले अहिले निर्वाचको लागि कहाँबाट खर्च जुट्छ रु खर्चै गर्ने सक्ने अवस्था छैन भनेर भनिरहेका छन् । निर्वाचन लोकतन्त्रको प्राण हो । त्यो कहिले हुन्छ भन्ने परिस्थितिमा भर पर्ने कुरा हो । हामी ठिक पाँच वर्षमा पनि गर्ने सक्छौँ, परिस्थितिले माग्यो भने त्योभन्दा अगाडि पनि मध्यवर्ती चुनावमा जान सक्छौँ ।’

निर्वाचनकै लागि भनेर म्यादी प्रहरी भर्ना गर्ने र केही समयका लागि भएपनि उनीहरूले रोजगारी पाउने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचनको लागि केही म्यादी प्रहरी खटाउछौँ, उनीहरुले केही सयमको लागि भए पनि रोजगार पाउँछन् । बजार अलि चलायमान हुन्छ । आर्थिक क्रियाकलापमा त्यसले केही सहयोग नै गर्छ ।’