Banner News

देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउनुपर्छः राष्ट्रपति भण्डारी



काठमाडौँ, १६ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई द्रुत आर्थिक विकाससहितको समृद्ध राष्ट्र बनाउने शहीदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुनुपर्ने बताउनुभएको छ ।

शहीद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले दिगो शान्ति, सुशासन र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताउनुभएको छ । शहीद दिवसले हामीहरुलाई शहीदले गरेको सर्वोच्च त्यागको स्मरण गराउने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले सन्देशमा भन्नुभएको छ, ‘शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने मैले विश्वास लिएको छु ।’

हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको उल्लेख गर्दै उहाँले इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरूद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीरवीराङ्गनाप्रति सम्मान व्यक्त गर्नुभयो ।