काठमाडौँ, २१ माघ । राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले आधिकारिकता दाबी गर्दै मंगलबार निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपाका केपी शर्मा ओली समूह र दाहाल–नेपाल समूहले डेढ महिना छुट्टाछुट्टै बैठक, एकअर्कालाई कारबाही, आमसभा र पत्राचार गरेपछि आयोगमा औपचारिक रूपमा अधिकारिकता दाबी गर्दै निवेदन परेको हो ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदन दर्ता भई संग्लन कागजातका आधारमा अध्ययन सुरु भएको बताए । ‘उहाँहरूको निवेदन दर्ता भएको छ । उहाँहरूले ऐनको दफा ४३ र ४४ अनुसार निरूपण गरिपाऊँ भन्नुभएको छ,’ श्रेष्ठले भने, ‘सबालचाहिँ पदाधिकारी हेरफेर र निर्णयको आधिकारिकतासम्बन्धमा भन्नुभएको छ ।’ निवेदन र संग्लन कागजातको अध्ययन गरी आयोगले आवश्यक निर्णय लिने उनले बताए ।
नेकपाका विवादरत दुवै पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम विवरण अद्यावधिकका लागि पत्राचार गरे पनि आयोगले त्यसलाई अस्वीकार गरेपछि दाहाल–नेपाल समूहले ऐनको दफा ४४ अनुसार २ सय ७५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित आयोगमा आधिकारिकता दाबी गरेको हो । आधिकारिकता दाबी गर्न दाहाल, नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू नारायणकाजी श्रेष्ठ, राजेन्द्र पाण्डे, लीलामणि पोखरेललगायतको टोली आयोग पुगेको थियो ।
नेता खनालले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार निवेदन दिइएको बताए । ‘बल्ल दाबा प्रस्तुत गर्ने चरणमा आएका छौं । सुरुमा आआफ्नो ढंगले कुरा राखियो । पार्टी विभाजित भयो, राजनीतिक रूपले दुई समूह त भयो,’ नेता खनालले भने, ‘सानो समूह, वैधानिकता प्राप्त गर्न नसक्ने समूह भए पनि बालुवाटार एउटा सानो टुक्रा त हो । यसकारण त्यो टुक्राले पनि दाबी गर्यो । अब दलसम्बन्धी ऐनमा टेकेर आयोगले तथ्यहरूका आधारमा विवाद निरूपण गर्नुपर्छ, त्यसका लागि समय आइसकेको छ ।’
अध्यक्ष दाहालले केपी ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी गरेका थिए । आयोग पुगेका नेताहरूले पार्टीको विवाद निरूपण नभई निर्वाचन हुन नसक्ने भन्दै नेकपा विवाद निरूपण गर्नुपर्ने बताएका थिए । उनीहरूले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ का उपदफा (१), (२), (३), (४) र (५) अनुरूपका प्रक्रिया र उपदफा (६) बमोजिम एकीकरणअघिका सम्झौता, घोषणापत्र, अन्तरिम विधान र पार्टीको राजनीतिक दस्तावेज हेर्न आग्रह गरेका छन् । दाहाल–नेपाल समूहले नेकपा आधिकारिकताको टुंगो नलगाई निर्वाचनसम्बन्धी कुनै प्रक्रिया अघि बढाउन नमिल्ने बताएको छ । सो समूहले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएको र विष्णु पौडेललाई महासचिवबाट हटाइएको जानकारीसमेत गराएको छ ।
यसअघि सोमबार बसेको सो समूहको केन्द्रीय कमिटी बैठकले निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्ने, केपी शर्मा ओलीलाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने र पौडेललाई महासचिवको जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो । यसअघि गत पुसमा पनि सो समूहले २ सय ८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर आयोगमा बुझाएको थियो ।
अब के हुन्छ ?
दाहाल–नेपाल समूहले आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिकता दाबी गरेको छ । ऐनको दफा ४३ मा दुई वा दुईभन्दा बढी दलका पक्षबीच दलको नाम, छाप, विधान, झन्डा, चिह्न, पदाधिकारी र केन्द्रीय समितिको निर्णयको आधिकारिकतामा विवाद भए त्यस्तो विवादको निरूपण आयोगबाट हुने उल्लेख छ । ऐनको दफा ४४ मा विवाद निरूपणसम्बन्धी कार्यविधि तोकिएको छ । जसअनुसार दलको नाम, छाप, झन्डा वा चिह्नसम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झन्डा वा चिह्न दाबी गर्नेले र दलको पदाधिकारी, केन्द्रीय समिति वा केन्द्रीय समितिको आधिकारिकता दाबी गर्ने पक्षले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षरसहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोगसमक्ष आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ ।
तर नेकपामा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा गरेसँगै विवाद उत्पन्न भएकाले ४५ दिनपछि गरिएको आधिकारिकता दाबीले मान्यता पाउँछ कि पाउँदैन भन्ने प्रश्नसमेत खडा भएको छ । ‘ऐनको दफा ४४ मा दलका पक्षहरूबीच आपसी विवाद सुरु भएको ३० दिनभित्र आधार तथा प्रमाणसहित दाबी पेस गर्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा विघटनसँगै विवाद सुरु भएको मान्ने हो भने ४५ दिन बितिसकेको छ,’ एक पूर्वआयुक्तले भने, ‘हदम्याद समाप्त भएपछि पेस भएको निवेदन आयोगले कसरी लिन्छ वा लिँदैन भन्ने भएपछि मात्रै के निर्णय लिन्छ भन्ने कुरा आउला त्यसकारण यसबारे केही भन्न सकिँदैन ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्