Banner News

भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गरिने



काठमाडौँ, २५ माघ । सरकारले भोलिदेखि दोस्रो चरणको खोप लगाउन सुरु गर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार दोस्रो चरणको खोपका लागि दूतावास, यूएन एजेन्सीका कर्मचारी र पत्रकारलाई प्राथमिकतामा राखिएको छ ।

काठमाण्डौको सिभिल अस्पताल, शिक्षण अस्पताल, सहिद गंगालाल अस्पताल र ललितपुरको पाटन अस्पतालमा दोस्रो चरणको खोप लगाइने छ ।

प्रवक्ता गौतमकाअनुसार सिभिल अस्पतालमा पत्रकारलाई, पाटन अस्पतालमा यूएन एजेन्सीमा कार्यरत तथा विदेशी कर्मचारीलाई, शिक्षण अस्पताल महाराजगञ्ज र बाँसबारीमा रहेको सहिद गंगालाल अस्पतालमा दूतावास तथा कूटनीतिक नियोगमा कार्यरत व्यक्ति र विदेशी कर्मचारीमा आश्रित व्यक्तिलाई खोप दिइनेछ  ।

खोप लगाउन पत्रकारका लागि सूचना विभागबाट जारी प्रेस प्रमाणपत्र अनिवार्य गरिएको छ । खोपका लागि पहिलो चरणको जस्तो अनलाइनमार्फत सूचीकृत हुन भने नपर्ने मन्त्रालयले जनाएको छ ।

गएको माघ ४ गतेदेखि सुरु भएको पहिलो चरणको खोप अभियानमा १ लाख ८४ हजार ८ सय ५७ जनाले खोप लगाएका छन् । भारतले अनुदानस्वरुप उपलब्ध गराएको १० लाख डोजअन्तर्गत खोप अभियान सुरु भएको हो ।