Banner News

तालिमप्राप्त पत्रकार नहुँदा विकृति बढ्यो: मन्त्री गुरुङ



काठमाडौँ, २५ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति बढेको बताएका छन् ।

आज काठमाडौंमा आमसञ्चार र श्रमजीवि पत्रकार नीति, कार्यक्रम र बजेट विषय छलफल कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तालिमप्राप्त पत्रकार नहुँदा विकृति, बिसंगति जन्मिएको र पत्रकारहरुको निम्ति तालिम केन्द्रको विकास नगरी पत्रकारिता क्षेत्रको गुणस्तर नहुने बताए ।

आफ्नो योग्यता, क्षमता र गुणस्तर बिना बजारमा बिक्री हुन्नौँ भन्ने हेक्का पत्रकारहरुले पनि राख्नुपर्ने उनको भनाइ छ । उनले विरोध गरेपछि मात्रै पत्रकार भइन्छ भन्ने धारणा परिवर्तन नगरेसम्म पत्रकारिता क्षेत्रलाई सम्मानित, मर्यादित र जिम्मेवार बनाउन नसकिने पनि बताए ।

मन्त्री गुरुङले पत्रकारको समस्या समाधानको निम्ति प्याकेज बनाएर अघि बढ्ने बताए । पत्रकारका लागि कोभिड १९ कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।