पर्वत, २५ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले प्रधानन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेकै नेकपा आधिकारिक भएको उल्लेख गर्दै निर्वाचन आयोगले समेत केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीबाहेक अन्यलाई आफूले नजान्ने बताएकाले भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
कुश्मा नगरपालिका–३ र मोदी गाउँपालिका–५ बाजुङ जोड्ने आम्वोट खोला मोटरेल पुलको उद्घाटन गर्दै मन्त्री नेम्वाङले प्रधानमन्त्री ओलीले गरेका जनमुखी र मुलुकमा विकास निर्माणले छलाङ मारिरहेको हेर्न नसकेर प्रचण्ड र माधव नेपाल बाहिरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओली नै आधिकारिक अध्यक्ष र उहाँले नेतृत्व गरिरहेकै नेकपा संस्थापन पक्ष भएकाले कोही पनि कार्यकर्ता प्रचण्ड–नेपालको प्रलोभनमा पर्न नहुने बताउनुभयो ।
उहाँले चुनाव चिन्हका बारेमा समेत शंका गर्नु नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘जो अहिलेसम्म सूर्य चिन्ह लिएर निर्वाचन लडेकै छैन, उसैले सुर्य चिन्ह हाम्रो हो भन्दै हिड्नु हास्यास्पद हो । आधिकारीक अध्यक्ष जो हो उसैसँग चुनाव चिन्ह रहन्छ ।’
सडक डिभिजन कार्यालय बागलुङले निर्माण गरेको उक्त पुल पच्चीस मिटर लामो उक्त पुल रु चार करोड १७ लाख ६२ हजारमा निर्माण सम्पन्न भएको हो । विसं २०७५ पुसदेखि निर्माण शुरु भएको उक्त पुल विसं २०७७ असोजमा सम्पन्न भएको थियो । पुल निर्माण पछि दुर्लुङ्ग–बाजुङ सडक बाह्रैमास सञ्चालनमा आउने भएको छ ।










प्रतिक्रिया दिनुहोस्