Banner News

प्रचण्ड-नेपाल समूह नसच्चिए सडकमा पनि ठाउँ पाउँदैनन्: मन्त्री रायमाझी



बुटवल, ३० माघ । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री टोपबहादुर रायमाझीले पुष्पमकल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल समूह नसच्चिएमा सडकमा समेत ठाउँ नपाउने चेतावनी दिनुभएको छ ।

प्रेस संगठन नेपालको लुम्बिनी प्रदेश भेलाको शुक्रबार उद्घाटन गर्दै मन्त्री रायमाझीले आफ्नै कारणले प्रचण्ड-नेपाल समूह सडकमा गएको उल्लेख गर्दै गल्ती सच्याएर मूल धारमा समावेश नहुने हो भने सडकमा पनि ठाउँ नपाउने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री ओली समूहका नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीभित्रैबाट अपदस्त गर्न खोज्दा अहिलेको अवस्था सृजना भएको बताउनुभयो ।

पार्टी एकता र सरकार निर्माण भएको तीन वर्षसम्म प्रधानमन्त्रीविरूद्ध प्रचण्ड-नेपाल समूहले गरेका षडयन्त्रको आफू साक्षी रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘पार्टीका पहिलो र सर्वसम्मत अध्यक्ष र प्रधानमन्त्रीलाई दुवै पदबाट अपदस्त गर्न खोज्दा उनीहरू सडकमा पुगेका हुन्, हामीले यसबारे सचेत गराउँदा पनि नमान्दा यो अवस्था आएको हो ।’

अहिले सञ्चार माध्यममार्फत् जनतामाझ भ्रम छर्ने दुस्साहस गरिएको भन्दै उहाँले गलत भ्रमलाई चिरेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भएको र विकास र समृद्धिसहितको आर्थिक क्रान्ति सुरू भएको बेलामा पदीय लोभलालचमा नेताहरू लाग्नु उनीहरूकै लागि गलत भएको मन्त्री रायमाझीले बताउनुभयो ।

जनतामा गलत सन्देश प्रवाह गर्न सरकारका दुई जना मन्त्रीले ओली समूह छाड्दैछन् भनेर झूटो प्रचार गरेको भन्दै उहाँले विकास र समृद्धिको अभियान ओली नेतृत्वको पार्टी र सरकारले मात्रै अघि बढाउन सक्ने दाबी गर्नुभयो ।