Banner News

प्रधानमन्त्री ओली र थाई राजदूत भोरासाफबीच शिष्टाचार भेटवार्ता



काठमाडौँ, ३० माघ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत भोषित भोरासाफबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटमा प्रधानमन्त्री र राजदूतबीच दुई मुलुकबीच लामो समयदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ गतिका साथ अघि बढाउनका लागि विभिन्न विषयमा वार्ता भएको थियो ।

उक्त भेटको अवसरमा प्रधानमन्त्रीले राजदूत भोरासाफको सफल कार्यकालका लागि शुभेच्छा व्यक्त गर्दै दुई देशबीच सम्बन्धका नयाँ आयामहरु पहिल्याउन सकिने विश्वाससमेत व्यक्त गर्नुभयो । प्रधानमन्त्रीले दुई मुलुकबीच बौद्ध धर्ममार्फत् जोडिएका साँस्कृतिक एवं जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउन दुवैतर्फ रहेका बौद्ध तीर्थस्थलमा पर्यटक आवागमनलाई बढावा दिइनुपर्ने धारणासमेत राख्नुभएको थियो ।

राजदूत भोरासाफले थाइल्याण्ड र नेपालको भैरहवा विमानस्थलबीच सीधा हवाई सम्बन्ध जोड्न सकिए नेपालमा थाई पर्यटकको आगमन बढाउन सकिने बिचार व्यक्त गर्नुभएको थियो ।