समाचार

औषधी तथा सर्जिकल सामान चोरी गर्ने चार जना पक्राउ



भक्तपुर, ५ माघ । मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमीस्थित दिव्य ज्योती साईटिफिक ट्रेडिङ कन्सर्नको गोदामबाट औषधी तथा सर्जिकल सामानहरु चोरी गरेको अभियोगमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका-२ सानोठिमी बस्ने २२ वर्षीय रिजन थापा मगर लगायत ४ जनालाई गोदामबाट औषधी तथा सर्जिकल सामानहरु रिजनको घरमा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट खटिएको प्रहरीले चोरी गरेको ३५ थान ETHANOL ABSOLUTE AR GRADE, १० थान OXYGEN FINE ADJUSTMENT VALVE लगायतका विभिन्न औषधी तथा सर्जिकल सामानसहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरु उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरले जनाएको छ ।