हेटौंडा, ५ फागुन । बागमती प्रदेशसभाको बैठक आज बस्दै छ । नेकपाको प्रचण्ड-माधव समूहको दबावपछि सभामुख सानुकुमार श्रेष्ठले आज दिउँसो दुई बजे प्रदेशसभा बैठक बोलाउनुभएको हो । माघ १९ गते बोलाइएको बैठक अघिल्लो राति आकस्मिक सूचना जारी गर्दै फागुन ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजको बैठकमा दलगत धारणा राख्ने तयारी छ । मुख्यमन्त्री पौडेलले भने अविश्वास प्रस्तावको सामना गर्नुको साटो बैठक रोक्ने तयारी भइरहेको बताइएको छ ।
मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड(माधव समूहले गत पुस १० गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । माघ ९ गते अविश्वास प्रस्ताव टेबुल भएको थियो । तर प्रस्तावमाथि छलफल सुरु हुन सकेको छैन । अविश्वास प्रस्ताव विफल पार्न वा पारित गर्न प्रमुख प्रतिपक्षी कांग्रेसको साथ आवश्यक छ । तर कांग्रेस दुवै पक्षतिर खुलेको छैन ।
बागमती प्रदेशसभामा नेकपाका ८० प्रदेशसभा सदस्य छन् । यसैगरी कांग्रेसका २२, विवेकशील साझाका ३, राप्रपाका २, नेमकिपाका २ र स्वतन्त्र १ सदस्य छन् । प्रदेशसभाका कूल ११० सदस्यमध्ये मुख्यमन्त्री पौडेललाई सरकार जोगाउन कम्तिमा ५६ सांसदको साथ चाहिन्छ । तर उनीसँग हाल ३५ सदस्यमात्र छन् । यसैगरी प्रचण्ड-माधव समूहसँग ४५ सांसद छन् । विश्वास प्रस्ताव पास गराउन सो समूहलाई थप ११ सांसदको साथ आवश्यक छ ।










प्रतिक्रिया दिनुहोस्