राजनीति

प्रचण्ड-माधव समूह अविश्वासको प्रस्तावबाट पछि हट्यो



काठमाडौँ, १७ फागुन । विभाजित नेकपाको प्रचण्ड-माधव पक्षले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव संसदका आगामी अधिवेशनमा अघि नबढाउने भएको छ ।

९० जना सांसदको हस्ताक्षरसहित दर्ता गरिएको प्रस्तावको वैधानिकतामाथि समेत प्रश्न उठेको र कांग्रेस, जसपालगायतका दलहरुले सो प्रस्तावलाई समर्थन जनाउने सम्भावना समेत नदेखिएपछि आफ्नो प्रस्ताव अघि बढाउनबाट प्रचण्ड-माधव पक्ष पछि हटेको हो ।

सोमबार बिहान बसेको सचिवालय बैठकमा समेत यसबारेमा छलफल भएको र अन्य दलहरुसँग समेत परामर्श गरेर नयाँ ढंगले जानुपर्ने देखिएकाले अहिले सो प्रस्तावको सन्दर्भमा थप कदम नचालिने प्रचण्ड-माधव पक्षका वरिष्ठ नेता झलनाथ खनालले बताए ।

सभामुखले समेत यसबारेमा परामर्श गर्ने भएका छन् । प्रचण्ड-माधव पक्ष नेकपा संसदीय दलबाट ओलीलाई हटाउने प्रक्रियामा भने नजाने भएको छ । पहिले दर्ता गरिएको अविश्वास प्रस्तावका हस्ताक्षरकर्तामध्ये ६ जना सांसदले फिर्ता लिइसकेका छन् ।