समाचार

आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै



काठमाडौँ, २४ फागुन । आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ ।

१११ औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, सम्मृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गर्न लागिएको हो । नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन ।

सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।