काठमाडौँ, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै प्रकारको अशान्ति नरहेको बताएका छन ।
आज सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयद्वारा २०औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेका ओलीले नेपाल अब विकास र सुशासनको बाटामा अघि बढेको बताएका हुन ।
उनले भने, ‘हामी राष्ट्रिय एकताको भावका साथ अघि बढेका छौँ”, “अब देशमा हिंसाको अन्त्य भएको छ, नेपाल शान्तिको नयाँ युगमा प्रवेश गरेको छ ।’
प्रधानमन्त्री ओलीले आफू राष्ट्रिय एकताको भावका साथ अघि बढेको तथा देशमा शान्ति, सुशासन र राष्ट्रिय एकताको ढोका खोल्ने काम आफूले गरेको स्पष्ट पारे । नेपाली सेनाको परिचालन र प्रयोग सही ढङ्गले हुँदै आएको बताउँदै उनले नेपाल विश्वमा शान्ति स्थापनाका पक्षमा रहेको स्पष्ट पारे । उनले भने, ‘ठूलो होस् वा सानो देश, विश्वमा न्यायोचित हकको रक्षाका लागि मात्र सेना परिचालन गरिनुपर्छ ।’
अन्तरराष्ट्रिय क्षेत्रमा समेत नेपाली सेनाले शान्ति स्थापनार्थ उल्लेखनीय योगदान दिँदै आएको बताउँदै प्रधानमन्त्रीले भने, ‘सेनाले आफू जोखिम मोलेर भए पनि शान्ति स्थापनाका लागि काम गर्दै आएको छ ।’ जनतालाई भ्रममा पार्ने तत्त्वसँग सचेत हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले मूल कानून संविधान मानेर सबै अघि बढ्नुपर्ने सुझाव दिए ।










प्रतिक्रिया दिनुहोस्