Banner News

सरकारको ऐतिहासिक कदमः थप १८ वटा सुरुङ मार्ग निर्माण हुने (सूचीसहित)



काठमाडौँ, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई सुरुङ मार्गमा रुपान्तरण गर्ने महत्वकांक्षि योजना सार्वजनिक गर्दा कतिपयले खिसिटुल्ली गरेका थिए । तर एक पछि अर्को गर्दै काम नै सुरु भएपछि आलोचकको मुख बन्द भएको छ ।

सडक विभागले उत्तर-दक्षिण कोरिडर अन्तरगत दोलखाको लामाबगरमा बन्ने सुरुङमार्गको डिजाइन तयार गरेको छ । सो सुरुङमार्ग निर्माणका लागि बहुवर्षीय ठेक्का गर्न अर्थमन्त्रालयसँग बजेटको सहमति पनि माग गरेको छ । विभागको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक विजय जैसीका अनुसार यो सुरुङमार्ग निर्माण भएमा दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्नेछ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ‘हेडवक्र्स’भन्दा माथिको भागमा करिब एक किलोमिटर सुरुङ निर्माण गर्नुपर्नेछ । यो सुरुङ बनेपछि चीनको नाका जोड्न थप करिब ९ किलोमिटर सडक निर्माण गर्नुपर्ने हुन्छ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी यो सुरुङमार्ग बनाउन लागिएको हो ।

यसै वर्ष विभागले थप ३ वटा सुरुङमार्ग अध्ययनको काम अघि बढाएको छ । सडक विभागले यस वर्ष धरान-लेउतीरोड, गोदाबरी (ललितपुर)- मानेभञ्ज्याङ (काभ्रे) र दिपायल (डोटी) – खुटिया (कैलाली) खण्डमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिरहेको जैसीले बताए । यी सुरुङमार्गको अध्ययन सकिएर कहिलेबाट, कसरी निर्माण गर्ने भन्ने केही तय छैन ।

अहिले काठमाडौं-निजगढ द्रुतमार्गमा बन्ने तीनसहित देशभर १७ वटा सुरुङमार्ग अध्ययन र अध्ययनपछिका चरणमा छन् ।

अध्ययन गर्दै मित्र राष्ट्र

गणेशमानसिंह मार्गमा पर्ने थानकोट-चित्लाङ सुरुङमार्गको पनि अध्ययन भइरहेको छ । मकवानपुरको थाहा नगरलाई जोड्ने यो सुरुङमार्ग बनेमा पालुङ भएर हेटौंडा जोड्ने त्रिभुवन राजपथको दूरी छोटिने भनिएको छ । यसैगरी, टोखा-छहरे-गुर्जुभञ्ज्याङ र बेत्रावती-रसुवागढी (घट्टेखोला) सुरुङमार्गको त डीपीआर तयार गरिँदै छ ।

गत वर्ष असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा काठमाडौंबाट रसुवाको नेपाल-चीन नाकासम्म -टोखा-छहरे-गुर्जुभञ्ज्याङ करिब ५ किलोमिटर र बेत्रावती-रसुवागढी (घट्टेखोला) करिब २४ किलोमिटर सुरुङमार्ग बनाउन अध्ययन गर्ने समझदारी भएको थियो । त्यसअनुसार, चिनियाँ टोलीले प्रारम्भिक अध्ययन गरेको थियो । प्रतिवेदन भने दिन बाँकी छ ।

जापानको सहयोगमा कोटेश्वर-जडीबुटी सुरुङमार्गको अध्ययन पनि भइरहेको छ । केन्द्रीय राजधानी काठमाडौं सहरको ट्राफिक समस्या कम गर्न सरकारले नयाँबानेश्वरमा पनि अन्डरपास बनाउने योजना बनाएको छ ।

तीन सुरुङको ठेक्का अर्को वर्ष

सडक विभागले पूर्व-पश्चिम राजमार्गको नवलपरासीको दाउन्ने उकालोमा पनि ५-६ किलोमिटर मो सुरुङमार्ग बनाउन अध्ययन गरेको छ । अप्ठ्यारो भूगोलका कारण बुटवल-नारायणगढ सडकखण्ड ४ लेनको बनाउँदा यो खण्डमा तीन लेनमा मात्रै विस्तार गर्न लागिएको छ । यो अप्ठ्यारो उकालोमा सुरुङ बनाउने योजना बनाइएको हो ।

सडक बिभागले पोखरा-बागलुङ सडकको हेम्जा-नयाँपुल खण्डमा पनि ७ देखि साढे ८ किलोमिटर लामो सुरुङमार्गको सम्भाब्यता अध्ययन गरिसकेको छ । यता बीपी राजमार्गको खुर्कोट-चियाबारी खण्डमा पनि सुरुङमार्गको सम्भाब्यता अध्ययन भएको छ । यो सुरुमार्गको अनुमानित लम्बाइ ५ देखि साढे ६ किलोमिटर छ ।

यी तीनवटै सुरुङमार्ग निर्माणका लागि आगामी आर्थिक वर्षमा ठेक्का गर्ने विभागको योजना रहेको निर्देशक जैसीले बताए ।

तयारी नै तयारी

अहिले सरकारले जताततै सुरुङमार्गको अध्ययन गरिरहे पनि अध्ययन सकिएकामध्ये एउटा मात्र परियोजनाको काम भइरहेको छ । काठमाडौं भित्रिने नाका नागढुंगामा बनिरहेको २.६८ किलोमिटर लामो सुरुङमार्गको लागि जापान सरकारले १६ अर्ब सहुलियतपूर्ण ऋण दिएको छ ।

नेपाली सेनाले निर्माण जिम्मा लिएको काठमाडौं-निजगढ द्रुतमार्गको महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बनाइँदैछ । यसका लागि टेन्डर भएर कम्पनी छनोट भइसकेको छ ।

त्यस्तै, सिद्धार्थ राजमार्ग (बुटवल-पोखरा)को सिद्धबाबामा सुरुङमार्ग टेन्डरको तयारी भएको छ । यहाँ ११ सय मिटर लामो सुरुङ निर्माण हुने भनिएको छ । मकवानपुरमा कुलेखानी-भीमफेँदी सडक खण्डमा देउरालीडाँडा छल्न बागमती प्रदेश सरकारले ३ किलोमिटर लामो सुरुङमार्ग बनाउन टेन्डर गर्ने तयारी हुँदैछ । यो परियोजनाका लागि रु. २५ अर्ब लागत अनुमान गरिएको छ ।

सडक मार्गलाई छोट्याउन नेपालमा १०४ वर्षअघि नै मकवानपुरको चुरियामाई सुरुङमार्ग बनाइएको थियो । अमलेखगञ्ज-हेटौंडा सकडखण्डमा राणा शासनको पालामा बनाइएको ७०० मिटर लामो त्यो सुरुङमार्गको भग्नावशेष मात्र बाँकी छ