रोम, १ चैत । क्रिश्चियनहरूको पवित्र पर्व इस्टरका समय कोरोनाभाइरसको संक्रमण फैलिन सक्ने भन्दै इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रधानमन्त्री ड्रागीले आगामी ३–५ अप्रिलमा पूर्ण रूपमा मुलुक बन्द गरिने घोषणा गरेका छन् । एक वर्षअघि राष्ट्रिय लकडाउन गरेको इटालीमा संक्रमण फैलिँदो क्रममा रहेपछि संक्रमण रोक्न फेरि संघर्ष गर्नुपरेको अधिकारीहरूले बताएका छन् ।
सोमबारदेखि विद्यालय, पसल र रेस्टुराँहरू इटलीको आधाभन्दा बढी क्षेत्रमा बन्द रहनेछन् । सबभन्दा बढी जनघनत्व भएका रोम र मिलानमा पनि लकडाउन गरिएको छ । मानिसहरूलाई स्वास्थ्य सेवा र अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाइएको छ । प्रधानमन्त्रीको कार्यालयले नयाँ प्रतिबन्ध इस्टरसम्म कायम रहने जनाएको छ । इस्टर सप्ताहान्तलाई सम्पूर्ण मुलुकलाई उच्च सतर्कतायुक्त ‘रेड जोन’ बनाइनेछ ।
इटाली युरोपमा बेलायतपछि बढी प्रभावित मुलुक हो । इटालीको मृत्युदर बेलायतकोभन्दा कम भए पनि अन्य युरोपेली मुलुकको मृत्युदरभन्दा बढी रहेको छ । युरोपेली संघका अन्य मुलुकमा जस्तै इटालीमा खोप अभियानमा ढिलाइ भइरहेको छ । इटालीले आफ्नो मुलुकमा खोप अभाव पूर्ति गर्न भन्दै गत हप्ता दुई लाख ५० हजार अक्सफोर्ड–आस्ट्राजेनेका खोप अस्ट्रेलिया निर्यात गर्नमा रोक लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्