समाचार

उपचार खर्च तिर्न नसकेर बुवाआमाले छाडेका एक शिशुको मृत्यु



विराटनगर, ३ चैत । बुवाआमाले छाडेर हिँडेका एक शिशुको आइतबार राति नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । ती शिशुलाई एनआईसीयूमा भर्ना गरेपछि बुवाआमा चार दिनअघि सम्पर्कविहीन भएका थिए। उपचार खर्च तिर्न सक्ने अवस्था नभएको भन्दै उनीहरू भागेको पाइएको प्रहरीले जनाएको छ ।

शव व्यवस्थापन गर्न समस्या भएपछि प्रहरीले शिशुका बुवा मोरङको जहदागाउँपालिका–७ सिर्सियाका २४ वर्षीय राजा मरण्डीलाई नियन्त्रणमा लिएको छ। मरण्डीलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको मोरङ प्रहरी प्रवक्ता मानबहादुर राईले बताए । प्रसूति व्यथाले च्यापेपछि अस्पताल ल्याउँदै गर्दा मरण्डीकी श्रीमती पार्वती मुर्मुले फागुन २५ गते बाटोमै छोरा जन्माएकी थिइन्। स्वास्थ्य समस्या रहेको थाहा पाएपछि राजा र पार्वतीले छोरालाई विराटनगरको सञ्जीवनी अस्पताल पुर्‍याएका थिए । उक्त अस्पतालले स्वास्थ्य अवस्था गम्भीर रहेकाले तत्काल एनआईसीयूमा भर्ना गर्न भनेपछि उनीहरूले नोबेल अस्पताल पुर्‍याएका थिए ।

मरण्डीले साथमा रहेको १६ हजार रुपैयाँ भोलिपल्टै सकिएपछि शिशुलाई अस्पतालमै छाडेर भाग्नुपरेको बयान प्रहरीसमक्ष दिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।