सोलुखुम्बु, १६ चैत । जिल्लाको माप्य दूधकोशी गाउँपालिका–७ बाट भरुवा बन्दुकसहित एक युवक पक्राउ परेका छन् ।
सादा पोशाकमा खटिएको प्रहरी टोलीले स्थानीयवासी २७ वर्षीय दिलकुमार राईलाई शनिबार जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
शिकार खेल्न गएको भन्ने सूचनाका आधारमा वाकु प्रहरी चौकीका प्रहरी हबल्दार मनोजकुमार यादवको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरीक्षक दर्नालले बताए । उनको साथबाट प्रहरीले बन्दुकमा प्रयोग हुने २६ थान सलाई, १०० ग्राम बारुद, १५० ग्राम फलामको किटलगायतका सामग्री बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोज्दा उनको दाहिने हातमा चोट लागेको छ । राईलाई उपचारका लागि आइतबार मिसन अस्पताल ओखलढुङ्गा पठाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ । रासस










प्रतिक्रिया दिनुहोस्