समाचार

अब मोबाइलबाटै ट्राफिक जरिवाना तिर्न सकिने



काठमाडौँ, २७ चैत । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाका अनुसार यसअघि नै अनलाईन सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिँदै अझ बढि सहज, सरल र सुविधायुक्त बनाउन आजदेखि आफ्नै बैंक खाताबाट सिधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको हो । यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनुपर्ने बाध्यताको अन्त्य हुने र ट्राफिक कार्यालयमा हुने भीडभाडमा समेत कमी आउने भएको छ  ।

महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सूचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु बीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरि सिस्टम सञ्चालन गरेको जनाएको छ । आजदेखि थप ४५ वटा बैंक तथा वित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरूबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ ।