काठमाडौँ, ३० चैत । देशभरबाट माओवादीका २५ जनाभन्दा बढी नेतालाई एमालेमा प्रवेश गरिसकेका छन् भने अझै ३५ भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री केपी ओलीले आफू निकटस्थलाई जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३५ भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।’ एमाले र माओवादी विभाजित भएपछि संसदीय सरकारमा मन्त्रीसमेत बनेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दाबा लामा एमालेमा प्रवेश गरिसक्नुभएको छ । त्यस्तै पाँचथरका पुराना माओवादी नेता एवं पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, ताप्लेजुङका माओवादी नेता एवं प्रदेश सांसद टंकबहादुर आङबुहाङ एमालेमा प्रवेश गरेर प्रदेश १ को अर्थमन्त्री बन्नूभएको छ ।
त्यस्तै प्रदेश २ बाट पनि माओवादीका चारजना प्रदेशसभा सदस्यहरु एमालेमा प्रवेश गरेका छन् । माओवादीले चारैजनालाई सांसदबाट कारवाही गरेको छ । प्रदेश २ मा माओवादीका ११ सांसद रहेकोमा अब ७ जना बाँकी छन् । लुम्बिनी प्रदेशमा पनि माओवादीका दुईजना सांसदहरु एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई पनि पार्टीले निष्कासनको कारवाही गरिसकेको छ । माओवादी सांसदहरु दधिराम न्यौपाने र दिनेश पन्थी एमालेमा प्रवेश गरेसँगै उनीहरुको सांसद पद गुमेको छ ।
बालुवाटार स्रोतले भन्यो, ‘अब यो क्रम जारी रहन्छ । निर्वाचनका बेलासम्म माओवादीका धेरै नेताहरु एमालेमा आउँछन्, प्रधानमन्त्रीजीले नेताहरुको सूची नै बनाइसक्नुभएको छ, समय आएपछि उनीहरुलाई पार्टी प्रवेशको घोषणा गराइने प्रधानमन्त्रीले बताउनुभएको छ ।’










प्रतिक्रिया दिनुहोस्