विचार/ब्लग

फजूल खर्च, भ्रष्टाचार: देश गरिब हुनुका प्रमुख कारण



भोजराज

विकसित देश तिर जे काम गर्दा पनि सो काम गर्न लाग्ने खर्चको श्रोत बारे ध्यान दिइन्छ । यदि त्यो खर्च जनताको पैसा हो भने झनै बढी उत्तरदायी हुनपर्छ ।  कसैले पनि फजूल खर्चका लागि रकम स्वीकृत गर्न सक्तैन, गरेमा थाहा हुनासाथ उसको जागिर चट हुन्छ ।  यदि कसैको निजी खर्चमा कुनै कार्यक्रम भएका छन् भने पनि उसले त्यसलाइ कसरि उकास्छ भनेर पहिले नै अध्ययन गरिन्छ, अर्थात् “खै के थाहा” भन्ने किसिमले कसैले केहि गर्दैन । त्यसैले कुनै कर्मचारीलाई, नेतालाई कसैले केहि उपहार दियो वा घरमा बोलाएर खाना खुलायो, चियापान गरायो वा होलिडेमा संगै लग्यो भने पनि उसले किन त्यसो गर्यो, नेता वा कर्मचारीलाई त्यस्तो लाभ दिए वापत खर्च गर्नेले के प्राप्त गर्दैछ भन्ने बारे सबै जनता उत्सुक हुन्छन् ।  सबै संस्थाका कानून पनि स्पष्ट छन्, कसैले पनि त्यस्तो लाभ लिन हुँदैन, यदि लिनै पर्ने स्थितिमा संस्थाको उपहार दर्ता शाखामा दर्ता गर्न पर्छ, त्यसो हुँदा लाभ दिने व्यक्तिको पक्ष लिएर लाभ लिने व्यक्तिले कुनै कुरा पनि गर्न नसकोस् ।

गरिब तथा भ्रष्ट देशमा यस्तो भए जस्तो देखिन्न ।  विशेष गरी नेपालमा झनै देखिन्न ।  नेपालमा नाना भाँतीका संगठन छन्, फेरी तिनैका हरेक पार्टीका समानान्तर संगठन छन् अर्थात् राम्रै उद्देश्यका लागि एउटा संस्था खोलिएको छ भने अर्कोले पार्टीको इशारामा चल्न त्यस्तै अर्को संस्था खोल्छ ।  जस्तै विद्यार्थी युनियन, विद्यार्थी संघ, विद्यार्थी फेडरेशन, यो जातको विद्यार्थी संगठन, उ जातको विद्यार्थी संगठन, यो धर्मको विद्यार्थी संगठन, उ धर्मको विद्यार्थी संगठन, पहाडे विद्यार्थी संगठन, मधेसी विद्यार्थी संगठन, आदिवासी विद्यार्थी संगठन आदि ।  यी कुनै पनि विद्यार्थीका भलाइका लागि खोलिएका संस्था नभएर पार्टी, जात, क्षेत्र, धर्म नेताका लागि हनुमान उत्पादन गर्ने संस्था बन्दछन् । यिनले पार्टी, धर्म, जात वा क्षेत्रका आधारमा तिनका प्रमुखका इशारामा काम गर्छन, यदि पार्टी टुक्रियो भने यी पनि टुक्रन्छन्, फेरी जोडिए भने जोडिन्छन्, अर्थात् यी संस्था विद्यार्थीलाई विद्या आर्जन गर्न मदत पुग्ने हेतुले स्थापना गरिएकै होइनन् ।

यसरि एकै उद्देश्यका लागि थुप्रै संगठन खोले पछि यिनलाई संचालन गर्न पैसो चाहियो, पैसाको श्रोत यस्ता संस्थाले स्पष्ट देखाए जस्तो देखिन्न ।  हरेक मिटिंग मा खर्च हुन्छ, हरेक निर्वाचनमा अविर जात्रा र खादा माला हुन्छ, अचेल त झन् धुलोमा पनि रातो टालो विच्छ्याएर नेतालाई डुलाउने गरिन्छ, डाडामा पनि सोफा टेबल र टेन्ट गाडिन्छ, यी सब गर्न खर्च लाग्छ – यिनको श्रोत के हो ? अन्त्यमा, यो सब देश विकास गर्न खर्चिन पर्ने जनताले तिरेको कर वा विदेशीले विकासका लागि दिएको अनुदान हो ।  यदि यस्ता काममा कुनै व्यापारी वा धनाढ्यले सहयोग गर्यो भने उसले पनि सो उकास्न तिनै संस्थालाई प्रयोग गर्छ ।  अन्त्यमा मार पर्ने सर्वसाधारण जनता र विकास निर्माण का काम हुन्, त्यसैले त दुइ वर्षमा २ करोडमा बन्न पर्ने पुल बनिहाल्यो भने छ करोडमा छ वर्षमा बन्छ ।  एक पल्ट बनेको सडक कम्तिमा १०/२० वर्ष थाम्न पर्नेमा चैतमा बनेको सडक साउनको भेलले बगाइदिञ्छ ।  संस्थाले त्यति मात्र गर्दैनन्, कार्यालयमा चर्पी नभए पनि भव्य गेट बनाएका हुन्छन ।  कक्षा कोठामा पर्याप्त कुर्ची टेबल नभए पनि वार्षिक कार्यक्रममा नेता आउँदा महंगा सोफा राखिएका हुन्छन् ।

हरेक व्यक्तिले हरेक काममा लाग्ने खर्चको श्रोत के हो भन्ने बारे चासो राख्न पर्छ ।  तपाइँले तपाइँका नेता आउँदा एक दिनका लागि ल्याइएको हजारौंको सोफा तपाइँको घर अगाडीको ढल बनाउने पैसा हो ।  तपाइँको सडकमा ट्राफिक लाइट राख्ने पैसा हो ।  तपाइँले नेतालाई लगाइदिने खादामालाको पैसाको श्रोत तपाइँका छोरा छोरी पढ्ने स्कूलमा चर्पी बनाउने पैसा, उनीहरुलाइ कुर्ची टेबल किन्ने पैसा हो ।  के यस बारे तपाइँले कहिल्यै ध्यान पुर्याउनु भएको छ ? यदि पुर्याउनु हुन्न भने देशमा जस्तै तन्त्र आए पनि जनताको जीवनस्तरमा सुधार आउन्न, नेता र तिनका हनुमानगणमा मात्र आउँछ ।  जय चेतना ।  शुभ दिन ।