काठमाडौँ, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान समयमा कुनै पनि बहानामा लुटपाट गरेर भए पनि सरकारमा पुग्ने केही व्यक्तिहरुको चाहनालाई पुरा गर्न नदिएको स्पष्ट पार्नुभएको छ ।
बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको बताउनुभएको छ । उहाँले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ? एकथरि मान्छे आफू प्रधानमन्त्री हुन पाइन भनेर प्रतिगमन भो भनेर कराइरहेका छन् । अहिले त्यस्तै स्याल हुइँया चलेको छ । के हो प्रतिगमन ? उनीहरुले परिवर्तन नै बुझेका छैनन् ।’
अहिलेको व्यवस्था र यो व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अहिले कसैले संविधान खोसेको छैन, कसैले व्यवस्था खोसेको छैन, जनताको अधिकार खोसिएको छैन । लोकतन्त्रको मूल्य मान्यता तलमाथि परे र ? केही पनि परेको छैन ।’










प्रतिक्रिया दिनुहोस्