Banner News

दोधारा-चाँदनी सुख्खा बन्दरगाह : सुदूरपश्‍चिम विकासको ढोका खोल्ने रणनीतिक परियोजना



काठमाडौँ, १० वैशाख । कञ्चनपुरको दोधारा-चाँदनी सुख्खा बन्दरगाह निर्माणका लागि प्रक्रिया सुरु भएको छ । तेस्रो मलुकुसँगको व्यापारको ढोका खोल्न दोधारा-चाँदनी तथा एकीकृत चौकीको गुरुयोजनालाई अन्तिम रुप दिने काम भएको छ । इन्टरमोडल यातायात विकास समिति परियोजना कार्यान्वयनको अन्तिम गृहकार्यमा जुटेको छ ।

यो परियोजना समग्र सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ । इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकमा आशिष गजुरेल आएपछि परियोजनाले तीव्रता पाएको हो । यो परियोजना सरकारकै लागतमा निर्माणमा हुने हो । कञ्चनपुरको महाकाली पारी दोधारा-चाँदनीको गौरीशंकर र मायापुरी सामुदायिक जंगल क्षेत्रमा प्रस्तावित यो परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको छ ।

इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक गजुरले भन्छन्, यो परियोजनाले समग्र सुदूरपश्चिमको समृद्धिको ढोका मात्रै खोल्ने छैन ।  तेस्रो मलुकुसँगको व्यापारको ढोकालाई पनि यसले सहज बनाउने छ ।’ गजुरेल परियोजना कार्यान्वयनका लागि अन्तिम गृहकार्य भइरहेको बताउँछन् । गजुरेल भन्छन्, ‘यसलाई हामी तीन वर्ष १० महिनामा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेका छौं ।’ यो समाचार आजको अन्नपूर्ण पोस्टमा छ ।