Banner News

एमाले अध्यक्ष ओली तेस्रोपल्ट प्रधानमन्त्री



काठमाडौँ, ३१ वैशाख । कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार बनाउन गरेको प्रयास विफल भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र विपक्षी गठबन्धनले बहुमत जुटाउन नसकेको हो । यससँगै एमाले अध्यक्ष केपी शर्मा ओली सबैभन्दा ठूलो दलका नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति भण्डारीले बिहीबार बेलुका संविधानको धारा ७६ (३) बमोजिम एमाले संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार शपथ लिने तय भएको छ । त्यससँगै ओलीले एमालेकै वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् गठन गर्ने स्रोतले जनाएको छ । यस्तै ओलीले जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई पनि सरकारमा आउन आग्रह गरेका छन् । ओलीले अब संविधानको धारा ७६ ९४० बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

ओलीले यसअघि प्रधानमन्त्रीका रूपमा प्रतिनिधिसभामा विश्वासको मत गुमाएसँगै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउन दाबी पेस गर्न बिहीबार राति ९ बजेसम्मको समय दिएकी थिइन् । तर, उक्त समयावधिभित्र कसैको पनि दाबी पेस हुन नआएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् ।

बिहीबार दिनभरको रक्साकस्सीबीच संयुक्त सरकार बन्ने वातावरण बनाउन विपक्षी दल असफल भएका हुन् । एमाले विभाजन अन्तिम घडीमा टर्दा विपक्षी गठबन्धनले बहुमत जुटाउन सकेन । कांग्रेस र माओवादी नेता एमालेको नेपाल पक्षको आशामा बहुमत जुटाउन लागेका थिए । यो समाचार अन्नपूर्ण पोस्टमा छ ।