राजनीति

मुख्यमन्त्री गुरुङद्वारा मन्त्रिपरिषद विस्तार: पाँच मन्त्री नियुक्त



पोखरा, ५ जेठ । बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । मन्त्रिपरिषदमा दीपक मनाङेसमेत ५ जना मन्त्री थपिनुभएको छ ।

किरण गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा प्रदेश प्रमुख सीता पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । युवा तथा खेलकुदमन्त्री नियुक्त दीपक मनाङे भने शपथ ग्रहण समारोहमा अनुपस्थित हुनुहुन्थ्यो ।

यसअघि बस्नेत भौतिक पूर्वाधार, लम्साल उद्योग पर्यटन वन तथा वातावरण र पुन सामाजिक विकासमन्त्री हुनुहुन्थ्यो । कोरोना संक्रमित भएर होम आइसोलेसनमा रहेका बेला वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले त्यसै दिन मन्त्रिपरिषद विस्तार गर्न चाहेपनि स्वास्थ्यका कारण पछि सार्नु भएको थियो । मुख्यमन्त्री गुरूङ अहिले पनि होम आइसोलेसनमै छन् । मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको छ ।