पोखरा, ६ जेठ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले हिजोदेखी निरन्तर रुपमा २०७२ सालको भुकम्पको पराकम्पन गई लमजुङ जिल्लाको मस्र्याङ्दीको दोर्दी गाउँपालिका र बेसीसहरसँगै मनाङ जिल्लामा समेत भौतिक क्षती पुगेकाले गण्डकी प्रदेश सरकार भत्किएका घर निर्माणमा छिटोभन्दा छिटो लाग्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।
हिजोदेखी हालसम्म उक्त स्थानमा २४ घण्टामा ८६ पटक पराकम्पन गएको छ । त्यस्तै २४१ घरमा क्षती पुगेको बताइएको छ । सोही प्रशंगमा मुख्यमन्त्री गुरुङले जनताको पिडालाई मुक्त गराउन प्रदेश सरकार दृढताका साथ लाग्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले प्रदेश सरकार तथा संघीय सरकारले तत्कालको लागि बास बस्नको लागि आवश्यक सामग्रीहरु पठाइसकेको जानकारी समेत गराउनुभयो ।
उहाँले आफ्नो सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘गण्डकी प्रदेशको लमजुङ जिल्लाको मस्र्याङ्दी, दोर्दी गाउँपालिका र बेसीसहर नगरपालिका सँगै मनाङ जिल्लामा बुध र बिहीबार लगायत गइरहेको भूकम्पका कारण थुप्रैजना घाइते भएको खबरबाट चोट महसुस गरेको छु । घाइते हुनुभएका सबैजनाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । लमजुङमा २५० घर क्षतिग्रस्त हुँदा १ सयभन्दा बढी घर बस्नै नमिल्ने गरी भत्किएका छन् । तत्कालको राहतका लागि गण्डकी प्रदेश सरकारले ४० थान टेन्ट र त्रिपाल पठाइसकेको छ । संघ सरकारबाट ५० थान त्रिपाल गएको छ । जिल्ला विपद व्यवस्था समिति र रेडक्रस सोसाइटी लगायत संस्थाले राहत उपलब्ध गराएका छन् । गण्डकी प्रदेश सरकार भत्किएका घर निर्माणमा छिटोभन्दा छिटो लाग्न प्रतिबद्ध छ ।’










प्रतिक्रिया दिनुहोस्