काठमाडौँ, ७ जेठ । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौँ छाडेर नजान निर्देशन दिएको छ । त्यस्तै सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष महन्थ ठाकुरले निर्णय लिन सक्ने गरी जिम्मेवारी दिएको छ ।
आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो । बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गर्नुभएको थियो । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उहाँलाई समर्थन गर्नु उचित हुने नेता महतोले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन । जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि तपाईंहरु पनि तयार रहनु होला, जतिखेर पनि तपाईंहरुलाई बोलाइन्छ । सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’










प्रतिक्रिया दिनुहोस्