वाग्मती, ८ जेठ । वाग्मती प्रदेशको राजधानी हेटौँडामा बजारमा मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ ।
शुक्रबार जिल्ला प्रशसन कार्यलय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महङ्गोमा बिक्री गरेको जनाउदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।
साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा–७ की २५ वर्षीया नीशा आचार्य र हेटौंडा–९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो ।
सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।
२८ वटा सवारी साधन नियन्त्रणमा
निषेधाज्ञाको अवधिमा पनि सवारी साधन चलाएको जनाउदै वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट सोमवार २८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
निषेधाज्ञालाई कार्यान्वयन गराउने क्रममा मकवानपुर प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको हो । मकवानपुरमा कोरोना सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि गत वैशाख २० गतेदेखी लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ ।
नगरकार्यपालिका सदस्यको मत्यु
हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । रासस
प्रतिक्रिया दिनुहोस्