विराटनगर, १५ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धनसहित समृद्ध प्रदेश निर्माणमा अगाडि बढ्न उत्प्रेरणा मिलोस् भनेका छन् ।
गणतन्त्र दिवस २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले विश्वमा लोकप्रिय तथा समृद्ध पद्धतिको रूपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवन पद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै गएको मुख्यमन्त्री राईको भनाइ छ ।
सामन्ती, निरङ्कुश एवं एकात्मक व्यवस्थाको अन्त्य गर्दै देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको भन्दै मुख्यमन्त्री राईले सन्देशमा हामी निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य मान्यता बमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न कटिबद्ध छौं भनेका छन् । मुख्यमन्त्री राईले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न र सुरक्षित रहन विशेष अपील समेत गरेका छन् । उनले सहिदहरुप्रति श्रद्धा सुमन व्यक्त्त गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्