समाचार

काठमाडौँ उपत्यकामा जेठ २० पछि निषेधाज्ञा सहज बनाउने तयारी



काठमाडौँ, १६ जेठ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागु गरिएको आज एक महिना पुगेको छ । जेठ २० गतेसम्म कोरोना संक्रमणको भयावह अवस्था न्यूनीकरण गर्न भन्दै निषेधाज्ञा जारी छ । पछिल्लो एक सातायता उपत्यकामा संक्रमण र मृत्युदर दुवै घट्दो क्रममा छ ।अब विस्तारै स्वास्थ्य मापदण्डमा कडाइ गरेर निषेधाज्ञा केही सहज बनाउनुपर्नेमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सहमत हुनुभएको छ । तर, अहिले नै संक्रमणको अवस्था कस्तो हुन्छ भनेर पूर्वानुमान गर्न नसकिने उहाँले बताउनुभयो ।

प्रजिअ पराजुली भन्नुभयो, “वैशाख २० गतेदेखि जेठको पहिलो सातासम्म अवस्था निकै भयावह थियो । अक्सिजन, बेड, अस्पताल नपाएको गुनासो व्यापक थियो । अहिले ती समस्या समाधान भएका छन् । संक्रमणको दर घट्दै गए केही सहज पक्कै हुन्छ । तर, के–के हुन्छ, अहिले भन्न सकिँदैन ।”

जेठ २० गतेपछि खाद्यान्न र किराना पसल भने बिहानको समयमा खोल्ने तयारी छ । यसबाहेक बैंक तथा वित्तीय संस्था समेत अहिलेको भन्दा केही बढी मात्रामा खुलाउन दिने तयारी छ । निषेधाज्ञा बढ्दै जाँदा कतिपयले नागरिकलाई कहिलेसम्म थुनेर राख्ने हो भनेर आउने गुनासाहरुबारे पनि आफू जानकार रहेको पराजुली बताउनुभयो ।