काठमाडौँ, २९ जेठ । नेकपा एमालेले वाग्मती प्रदेश सभा सांसद नरोत्तम वैद्यको अभिव्यक्तिको भर्त्सना गरेको छ ।
शनिबार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने बारे दिएको अभिव्यक्तिलाई अत्यन्त गम्भीर रुपमा लिएको जनानुभएको छ ।
कांग्रेस सांसद बैद्यले हिजो प्रदेश सभाको बैठकमा प्रदेशको नीति तथा कार्यक्रमको विषयमा भइरहेको छलफलको क्रममा रोष्टममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्या गर्ने धम्की दिनुभएको थियो । वैद्यको सो अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले समेत आपत्ती जनाई सार्वजनिक रुपमा माफि माग्नलाई निर्देशन समेत दिनुभएको छ । वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको मनोमानी बढेको भन्दै उहाँको लागि एक जना नाथुराम गोट्सेको आवश्यकता परेको विवादास्पद अभिव्यक्ति दिनुभएको थियो । नाथुराम गोड्से तिनै व्यक्ति हुन् जसले भारतमा महात्मा गान्धीको हत्या गरेका थिए । वैद्यले आवश्यक परे देशको लागि आफैँ नाथुराम गोड्से बन्न पनि तयार रहेको अभिव्यक्ति दिएपछि सांसद बैद्यको चौतर्फी विरोध भएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ । उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’











प्रतिक्रिया दिनुहोस्