समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, १ असार । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार  आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

आजराति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना विभागले जनाएको छ ।