समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, ३ असार । यही जेठ २८ गते नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन आइतबारदेखि देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार  अहिले प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

देशभर सामान्यदेखि पूर्ण बद्ली रही यी प्रदेशका केही  ठाउँमा हल्कादेखि मध्यम खालको पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएको एक घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ । दैलेखमा १ घण्टामा १२ मिलीमिटर पानी परेको छ ।

आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै पानी पर्ने सम्भावना रहेको छ । तर हिजो अस्तिको तुलनामा कम पानी पर्ने अनुमान छ । अबको २४ घण्टाभित्र प्रदेश-१, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमदेखि ठूलो पानी पर्ने भएकाले त्यस प्रदेशका पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएकाे छ ।

नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र यातायात क्षेत्र पनि प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाका मौसमविद्ले आग्रह गरेका छन् ।