राजनीति

काँग्रेसद्वारा काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमको विरोध



काठमाडौँ, ३ असार । काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पर्याप्त छलफल बिनै ल्याउन लागिएको भन्दै नेपाली काँग्रेसकातर्फबाट निर्वाचित जनप्रतिनिधिले विरोध गरेका छन् ।

एमालेका तर्फबाट निर्वाचित मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको उपमेयर हरिप्रभा खड्गीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ । कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध दिने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ ।’

महानगरमा भएका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी हुने भएपनि त्यसो नभइ पेलेर अघि बढ्न खोजिएको खड्गीको भनाइ छ । महानगरपालिकाले नीति तथा कार्यक्रम बिहीबार नगरपरिषदमा पेश गर्न लागेका महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले जानकारी दिनुभयो ।