समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, ८ असार । नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन हाल देशैभर फैलिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार देशभर आज बिहान आंशिकदेखि सामान्य बदली रही प्रदेश न २ र वाग्मती प्रदेशका केही स्थानमा तथा लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागले वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राति देशभर सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम र नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ ।