समाचार

आजको मौसम पूर्वानुमान



काठमाडौँ, ११ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहनुका साथै दक्षिणी भूभाग नजिक मनसुनी न्युन चापीय रेखा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार  देशका अधिकांश भूभागमा आज बिहान सामान्य बदली रही प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान र बांकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती  प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाले जनाएको छ । नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।